
मानपुर । बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कनको आधारमा श्रावण महिनादेखि लागु हुने गरी मासिक दुई हजार थप गरिएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिकाको १ देखि ६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा १९ लाख ४४ हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
उता महिला स्वास्थ्य स्वयंसेविका भने मासिक दुई हजार रुपियाँ दिने निर्णय गरेकोमा स्वागत गर्दै यो रकम पर्याप्त नभएको गुनासो गरेका छन् । सोमबार जानकी गाउँपालिकाको कार्यालय पुगेर महिला स्वास्थ्य स्वसंसेविकाले दिनरात नभनि स्वास्थ्य सेवामा खटिएका आफूहरूलाई घरखर्च चलाउन पुग्ने गरी बजेटको व्यवस्था गरिदिन माग गरेका छन् ।
अब महिला स्वास्थ्य स्वयंसेविकाले संघीय सरकारबाट वार्षिक पोसाक खर्चबापत १० हजार, मासिक एक हजार र गाउँपालिकाबाट मासिक थप दुई हजार रुपियाँ प्राप्त गर्ने भएका छन् ।
जानकी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूह कार्यक्रमका लागि ३५ लाख १३ हजार रुपियाँको बजेट विनियोजन गरेको छ ।
जानकी गाउँपालिकाका वडा १ देखि ६ सम्म ८१ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन ।





