गुट बनाउने बेला नभई संगठन बनाउने बेला हाे : कांग्रेस नेता गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताउनुभएकाे छ ।

नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको ‘विशेष आन्तरिक अभियान’ को आज नेपालगन्जमा समापन गर्दै गिरीले पार्टीको आन्तरिक प्रतिष्पर्धामा गुट बनाए पनि अहिले संगठन बनाउने बेला भएको बताउनभयाे ।

२०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नुपर्ने गिरीको भनाई छ ।

“अहिले गुट-उपगुट विर्सनुस्, यो संगठन गर्ने बेला हो, गुट बनाउने बेला होइन,” गिरीले भन्नुभयाे,-“आवश्यक भयो भने गुट १५औं महाधिवेशनमा बनाउँला, यो त संगठन गर्ने समय हो ।”

पार्टीमा अनुशासन जरुरी रहेको आवश्यकता औंल्याउँदै गिरीले अनुशासन भएन भने संगठन जति बलियो भएपनि अर्थ नरहने उल्लेख गर्नुभयाे ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु समेत जनतामाझ भन्न नसकिरहेको भन्दै उनले जनसरोकारका मुद्दा सम्बोधनमा गम्भीर बन्न आग्रह गर्नुभयाे ।

अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीबाट टिकट लिएर निर्वाचित भएका जनप्रतिनिधिले समेत पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेको भन्दै पार्टीप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयाे ।

पार्टी सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई आसन र भाषण भन्दा पनि कर्ममा ध्यान दिन आग्रह गर्नुभयाे । अब नेपाली कांग्रेस बाँके कांग्रेस बनाउन घर-घरमा पुग्ने उद्घोष गौडेलले गर्नुभयाे ।

२०८४ को निर्वाचनमा बाँकेमा काँग्रेसलाई एक्लै लड्ने शक्तिका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै उहाँले पार्टी हित विपरीत काम गर्नेहरुलाई तत्काल कार्वाही गरिने चेतावनी दिनुभयाे ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व जिल्ला उपसभापति गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोल्नु भएकाे थियाे ।

कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गर्नुभएकाे थियाे । त्यसक्रममा विभिन्न नेता कार्यकर्ताले पार्टीको सांगठनिक अवस्थाबारे ब्रीफिङ गर्दै सल्लाह-सुझाब समेत दिएका थिए । 

Previous articleनेपाल प्रेस युनियन बाँकेद्वारा पहिलो पटक स्मारिका प्रकाशन
Next articleनेपालगञ्जमा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक परिचालन निर्देशिका तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here