जानकी गाउँपालिकाकाे स्वास्थ्य समीक्षा, विभिन्न स्वास्थ्य चाैकी सम्मानित

नेपालगन्ज । जानकी गाउँपालिका बाँकेको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा एवम् योजना तर्जुमा गोष्ठी मङ्गलवार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७९/८० को एकदिने समिक्षा गोष्ठीको गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गर्नुभएकाे थियाे ।

पालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरुका ईन्चार्ज तथा स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्थाका कर्मचारीहरुले उत्कृष्ट काम गरेको स्मरण गर्दै सेवा प्रवाहलाई अझ जनतामुखी बनाउनुपर्नेमा जोड दिनुभयाे ।

अध्यक्ष खाँले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले कार्यक्रमहरुको समिक्षा एवम् विश्लेषण गरी त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयाे ।साथै उहाँले उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवम् विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने र धरातलीय यथार्थ विश्लेषण गरी भावी रणनीति बनाउने लगायतका उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको बताउनुभयाे ।

कार्यक्रममा जानकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक तमलाल वेलबासेले पालिकास्तरिय स्वास्थ्य सँस्थाहरुको बार्षिक प्रगति विवरणमाथि प्रकाश पार्नुभएकाे थियाे ।

गोष्ठी उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगी, वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद रजा राई, २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, विपद् तथा वातावरण समितिका संयाेजक राजेन्द्र सिँह, सामाजिक विकास समिति संयाेजक राम आँचल धोवी, कार्यपालिका सदस्यद्धय कमलादेवी यादव र तारावती खटिक, वडा नम्वर ५ का वडा सदस्य मो शरिफ खाँ, जिल्ला जनस्वास्थ्यका दुर्गा गौतम, साईनिङ्ग अस्पतालका प्रमुख मङ्गल प्रसाद थारु लगायतको उपस्थिती थियो ।

गोष्ठीमा ६ वटै वडाका स्वास्थ्य ईन्चार्जहरुले आ-आफ्नो वडाको स्वास्थ्य सूचांकको अवस्था, प्रगति विवरण, समस्या, चुनौतीबारे जानकारी गराएका थिए ।

साथै स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा एवम् योजना तर्जुमा गोष्ठी कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको र सूचांककाे आधारमा बेलभार स्वास्थ्य चौकी, खजुराखुर्द स्वास्थ्य चौकी र साईगाउँ स्वास्थ्य चौकीलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

Previous articleलम्पी स्किन रोगको संक्रमण रोकथाम तथा उपचारको व्यवस्था मिलाउन माग
Next articleडुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here