
नेपालगञ्ज । नेपालगञ्जमा ५२६ औं तुलसी दास जयन्ती एवं २४ औं अवधी दिवस मनाइएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बुधबार नेपालगञ्जमा महोत्सवका रुपमा तुलसी जयन्ती मनाइएको हो ।
प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुमालको अध्यक्षतामा भएको समारोहमा डा.शुरेस कनोडिया, महासचिव बिरेन्द्र यादव, भारतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । समारोहलाई गोस्वामी तुलसी दास महाराजको तस्वीर अगाडी दिप बाली शुभारम्भ गरिएको थियो ।
रामचरित्र मानस (रामायण) का रचैता गोस्वामी तुलसी दास महाराजको जयन्तीको अवसरमा विश्वलाई रामचरित्र मानसमार्फत दिईएको ऊर्जावान सन्देशबारे कार्यक्रमका वक्ताहरुले चर्चा गर्नुभएको थियो ।
रामचरित्र मानस (रामायण) आज विश्वको सबै स्थानमा विभिन्न भाषामा प्रकाशित भईसकेको तथा उक्त धार्मिक ग्रन्थबाट धेरैले आफ्नो जीवनलाई ऊर्जावान बनाउन सफल भएको चर्चा गरिएको थियो ।
कार्यक्रममा अवधी गायक, कविता वाचक, गीतकार, हाँस्य कलाकार लगायतले आ-आफ्नो साहित्यीक कविता, गीतलगायत साहित्यका सृजनाहरु बाचन गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष कुमालद्वारा लिखित पुस्तक ७५ घमन्जा उपस्थित सबैलाई एक-एक थान उपहार स्वरुप प्रदान गरिएको थियो । ७५ घमन्जाभित्र नेपाली, अवधी र हिन्दी भाषामा विभिन्न कविता, लेख, रचनाहरु समावेश गरिएको छ ।





