
नेपालगञ्ज । नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीमाथि आक्रमण भएको हो ।
बितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर तीन वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा खटिएका केसीमाथि आक्रमण गर्दै कुटपिट गर्नुका साथै दायाँ हातको औंलामा गम्भीर चोट पुर्याएका छन् ।
घट्ना लगतै बिभिन्न संघ संगठनहरुले आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् । ने.बि.प्रा.कर्मचारी कल्याण परिषदका दिनेश कुमार प्रधान, ने.बि.प्रा.कर्मचारी युनियनका लिला प्रसाद वली, ने.बि.प्रा.राष्ट्रिय कर्मचारी युनियनका रेशम कुमार थापा र आधिकारीक ट्रेड युनियन ने.बि.प्रा.कर्मचारी संघका जय प्रकाश भण्डारीले संयुक्त बिज्ञप्ती जारी गर्दे दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।
संघ संगठनले जारी गरेको संयुक्त बिज्ञप्ती
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको कार्यालय परिसरमा मिति २०८०।०५।०५ गते राती करिब ९:०० बजे तिर ग्राहक राम प्रसाद हमालले ग्राहक कम्प्लेनको निउ पारेर आफुसहित केही अराजक प्रवृतिका उदण्ड समुह बनाई ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि डियूटीमा रहेको राष्ट्रसेवक कर्मचारीहरुलाई गाली गलौच, कुटपिट गरि सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीको दाया हातको औंलामा गम्भिर चोट पुरयाइएको अपराधिक घटनाको घोर भत्सना गर्दछौ ।
कार्यालय परिसरभित्र पनि त्यहाँ रहेका कार्यालयका सवारी साधन माथी तोडफोड गर्ने, नोलाइट कक्षमा गएर समान बाहिर फाल्ने, अराजकता मच्चाउने, निज ग्राहक राम प्रसाद हमालसहित निज सगै आएका ४ जनाले अपराधिक घटना घटाएकाले नियमानुसार सार्वजनिक मुद्दा चलाई कडा भन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायमा जोडदार अपिल गर्दछौ ।
तराई क्षेत्रमा विगत ३ दिनदेखी लगातार पानी परिरहेको बेला विद्युतिय प्रवाहमा अवरोध आई फिडर तथा ट्रान्सफर्मर संचालनमा अहोरात्र खटिरहेको परिस्थितिमा यसरी नियतवश हुलदंगा मच्चा र डियुटी वाला कर्मचारी माथी हातपात गर्ने अपराधिक प्रवृतीको नियन्त्रण गर्न पर्ने हाम्रो ठहर छ ।
कर्मचारीहरु रातिको समयमा पनि लाइन सुचारु गर्न फिल्डमा गएको मौका पारेर कार्यालमा प्रवेश गरि परिसरभित्र रहेका कर्मचारीलाई ज्यान मार्ने नियतले कुटपिट गर्ने त्यस्ता अपराधी मानसिकता बोकेका व्यक्तिहरुलाई हदै सम्मको कारवाही होस र एउटा श्रमिकले आफनै कार्यालयको परिसर भित्र सुरक्षीत भएर कार्य गर्न नसक्ने हो भने फिल्ड स्तरमा गई कसरी कार्य गर्न सक्छ यो गम्भिर विषयमा सम्बन्धित निकायको गम्भिर ध्यानकर्षण गराउन चाहन्छौं ।
अन्तमा कुटपिटबाट घाइते कर्मचारी फोरमेन श्री लक्ष्मण के.सी.ज्यूको सिघ्र स्वास्थ्य लाभको कामनासहित यस वितरण केन्द्रमा क्रियाशिल ४ वटै ट्रेड यूनियनको तर्फबाट घटनामा संलग्न व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको लागि पुन जोडदार माग गर्दछौ अन्यथा न्यायका लागि आम कर्मचारीहरु आन्दोलनको लागि बाध्य हुने जानकारी गदाउदछौ ।





