अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

एजेन्सी, वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गर्नुभएको छ । शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ ।

सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउन कोशिश गरेको अभियोग लागेपछि उहाँले आत्मसमर्पण गर्नुभएको हो ।

जेल चलान भएको २० मिनेटमा उनी जमानत तिरेर रिहा हुनुभएको थियो । सिएनएनका अनुसार औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उहाँ २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसक्नुभएको छ ।

ट्रम्पको मग सट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ । सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मग सट सार्वजनिक भएको यो पहिलो घटना हो । ट्रम्पले आत्मसमर्पण गरेको भने यो चौथो पटक हो ।

ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ ।

निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको विषयमा एक महिनाअघि डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता भएको थियो ।

४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको र रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेको उल्लेख गरिएको छ ।

अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उहाँले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट फेरि राष्ट्रपति उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो ।

२०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित हुनुभएको थियो । तर उहाँले पराजय सहजै स्वीकार्नुभएन । चुनावमा धाँधली भएको र आफूलाई हराइएको उहाँले आरोप लगाइरहनुभयो ।

सन् २०२१ को जनवरी ६ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए ।

बाइडेनलाई निर्वाचित भएको प्रमाणपत्र दिन नदिन उनीहरू हुलहुज्जत गर्दै संसद भवनभित्र पसेका थिए । उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

उक्त आरोपमा जेलमुक्त भएपछि उहाँ न्यू जर्सी पुगिसक्नुभएको थियो । त्यहाँ पुगेर उहाँले आफू निर्दोष रहेको बताएका सिएनएनले उल्लेख गरेको छ ।

Previous articleप्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण
Next articleमतगणना विवाद : नेपालगन्ज उद्योग वाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here