
काठमाण्डौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई ३ विकेटले पराजित गरेको छ।
लगातार तेस्रो जित निकालेको नेपालले मलेसियामा भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य भेट्टाउन १३.२ ओभर लगाउदा ७ विकेट गुमाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन जोड्दा अरु ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् । रुबिना बाहेक नेपालका लागि अरु ब्याटर दोहोरो अंकमा रन बनाउनबाट चुके ।
बलिङमा भुटानकी अन्जुली घलेले ३ विकेट लिन सफल हुनुभयो । उहाँले ४ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिनुभयो । यस्तै छिरिङ जाङमोले २ विकेट हात पार्नुभयो । त्यसअघि नेपालले भुटानलाई २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमै समेटेको थियो ।
भुटानका लगि कप्तान डेचेन वाङ्मोले २१ रन जोडिनुभयो भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिनुभयो । उहाँले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिनुभयो ।
कविता कुवारले ४ ओभरमा १ मेडन राख्दा ७ रन दिइन भने १ विकेट लिनुभयो । यस्तै रुबिनाले ४ ओभरमा २ मेडन राख्नुभयो भने ६ रन खर्चिएर १ रन दिनुभयो । खुसी डंगोलले १ विकेट हात पार्नुभयो । अब नेपालले समूहको चौथो खेलमा कतारसँग भोलि खेल्नेछ ।
आजको जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ । यसअघि नेपालले बहराइनलाई १० विकेट र मलेसियालाई ५ विकेटले हराएको थियो । मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा ५ टिम छन् । प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।





