
भावुक योगी, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकास्थित कारागारबाट एक जना कैदी भागेका छन् । बर्दिया प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ३० वर्ष सजाय तोकिएर सजाय काटिरहेका कैदी टोपे भनिने अजित बुढा क्षेत्री कारागारबाट भागेका हुन ।
कारागारभित्रको भवनको छतमा चढेका क्षेत्री काँडेतार लगाएको पर्खालमा चढेर बिहान साढे ३ बजेतिर हाम फालेर भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले जानकारी दिनुभयो ।
२०७२ साल फागुन ५ गते छिमेकी जोरासिंह थापाको हत्या अभियोगमा भोलिपल्टै पक्राउ परेका ठाकुरबाबा नगरपालिका ८ सुतैया गाउँका क्षेत्री बर्दिया जिल्ला अदालतमा बयानका लागि लगिएका बेला अदालत परिसरकै शौचालयको भेन्टिलेसनबाट २०७२ साल फागुन ३० गते पनि भागेका थिए ।
अदालत परिसरको शौचालयबाट भागेको साढे ६ वर्षपछि प्रहरीले गएको वर्ष कार्तिक २१ गते क्षेत्रीलाई घरबाटै पक्राउ गरेको थियो । अदालतले क्षेत्रीलाई हत्या अभियोगमा ३० वर्ष कैद सजायको फैसला गरेको थियो ।
अदालतको शौचालयबाट भागेपछि पक्राउ परेको एक वर्ष नपुग्दै फेरि कारागारबाट भागेका क्षेत्रीको खोजीका लागि नेपाल भारत सीमावर्ती नाकाका साथै गुलरिया, मधुवन, ठाकुरबाबा लगायतका जिल्लाका आठ वटै पालिकाका ठाउँठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।
कारागार भित्रैबाट कैदी कसरी भागे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





