
खजुरा । बाँकेको खजुरामा असोज १ गते बृहत तीज महोत्सव अयोजना हने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिले आयोजना गर्न लागेको १८औं बृहत खजुरा तीज महोत्सव–२०८०’को तयारी तीव्ररुपमा भई रहेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो ।
२२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताकारुपमा यसवर्षको महोत्सवलाई भब्य बनाउने तयारी रहेको बुढाथोकीले बताउनुभयो । उहाँले तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता तथा ब्रतालु दिदीबहिनीहरुको खजुरामा पुजा गर्न आउने र तीज गीतमा रमाउने परम्परा जस्तै हुँदै आएको उहाँले बताउनुभयो ।
मौलिक शैलीमा आफै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । समूहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महेत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरुको भेला हुने आयोजकले अपेक्षा गरेको छ ।
यस विषयमा आयोजकले बुधबार पत्रकार सम्मेलनसमेत गरेको छ । सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले ५ दशक पहिलेदेखि लक्ष्मीनारायण परिषरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले व्यवस्थापन मात्र गरेको बताउनुभयो ।
तीजको दिन स्वतः खजुरामा हजारौंको संख्यामा दिदीबहिनीहरुको जमघट हुने गरेको बताउँदै उहाँले यस वर्ष खजुराको वारी र पारी दुवै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने बताउनुभयो ।
महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीज गीत र तीजको एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुनेसमेत आयोजक क्षेत्र संरक्षण समितिले जनाएको छ ।
प्रतियोगीसहित मेला भर्न आउने मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकबाट मूल्यांकन गरेर पुरस्कृत गरिनेसमेत अध्यक्ष बुढाथोकीले बताउनुभयो । साथै महोत्सवमा एकल तथा सामूहिक नृत्य प्रतियोगितासमेत आयोजना हुने भएकाले विजेताहरुका लागि नगद पुरस्कारसमेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।





