
कोहलपुर । सल्यानबाट बसाई सराई, जागिरे र व्यापार व्यवसायका लागि बाँकेमा आएर बसोबास गरेका सल्यानीहरुले तीज मिलन कार्यक्रम गरेका छन् । सल्यानीहरुले एक आपसमा माया, प्रेम, र सद्भाव कायम गराउने उद्देश्यले सल्यानी समाज बाँकेले तीज मिलन कार्यक्रम गरेको हो ।
मंगलबार राप्तीसोनारी गाउँपालिका पूर्व उपाध्यक्ष धनी कुमारी खत्रीको प्रमुख अतिथ्यता र सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दको अध्यक्षतामा तीज मिलन कार्यक्रम भएको हो । तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले बाँकेमा सल्यानीहरु एकताबद्ध भएर बाँकेका सबै पालिकाहरुमा जानुपर्ने र एकआपसमा दुःख सुख साट्ने भेला, छलफल, अन्तक्रिया तथा पछिल्लो पिढिलाई सल्यानीहरुको साँस्कृति तथा रितिरिवाज समेत जानकारी दिनुपर्ने बताउनुभयो ।
यस्तै सल्यानी समाज बाँकेका अध्यक्ष चन्दले सल्यानमा पूख्र्यौली घर भई व्यापार व्यवसाय जागिरे तथा बसाईसराई गरी बाँकेमा बसोबास गर्नुहुने सम्पूर्ण सल्यानीहरुको आपसी सदभाव बृद्धि गर्ने उद्देश्यले राखिएको तीज मिलन कार्यक्रममा आउनुभएका सबैजनालाई धन्यवाद दिनुभएको थियो । उहाँले सल्यानी साँस्कृति, रितिरिवाजलाई संरक्षण र जर्गेना गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सल्यानी समाजका महासचिव शालिकराज परियार, सल्यानी समाज बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रदिप बोहरा तीज मिलन कार्यक्रमका संयोजक शुसिला हमाल, सह-संयोजक यशोदा शाह, पत्रकार भेषराज बस्नेत र डिल्ली शाहीको उपस्थति रहेको थियो ।





