रूपैडिहा जाने नेपाली उपभोक्ताकाे लर्काे

बाँके । नेपालगञ्जस्थित जमुनाहा नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले रु १०० भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौंको सङ्ख्यामा नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन् ।

प्रत्येक दिन दस हजारभन्दा बढी नेपाली जमुनाहा नाका हुँदै रुपैडिहामा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताउनुभयाे । ‘शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ’ उहाँले भन्नुभयाे, ‘सहजरुपमा आवतजावतको लागि हरदम प्रयास गरिरहेका छौं ।’

तीजको किनमेल गर्न रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायत स्थानका उपभोक्ता समेत किनमेलका लागि भारत जाने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैयाँमा कारोबार हुने गरेको छ । व्यापारीले पसलमा काम गर्ने कामदार समेत नेपालीलाई राखेर भाषाका लागि सहज बनाएका  छन् ।

नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले बताउनुभयाे । तीज आउन केही दिन बाँकी रहे पनि नेपालगञ्ज बजार सुनसान छ । बजारमा उपभोक्ताको चहलपहल कम छ तर सीमापारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयाे ।

रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक करिब रु१ करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्य सामान, तरकारीलगायत वस्तु किन्न सयौं नेपाली सीमा पार जान्छन् ।

नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको उहाँको भनाइ थियो । नेपाली उपभोक्ता भारतीय बजार किनमेलका लागि जाने परम्परा पुरानै भएकाले उनीहरूलाई नेपालगञ्जमै रोक्न नेपालगञ्ज उद्योग वाणिज्य संघकाे प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गरेपनि निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । रासस

Previous article‘हात्तीपाइलेको आम औषधी सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड’
Next articleउपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here