
खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं श्रृङ्खलाका रुपमा आयोजना गरिएको १८ औं बृहत खजुरा तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवमा भाग लिने स्थानीय महिलाहरुको समुह र एकल नृत्यमा भाग लिने कलाकारहरुले धमाधम नाम दर्ता गर्न शुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ ।
खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने महोत्सवमा लोक नृत्य र लोक संगीत बिधामा खजुरा क्षेत्रकै नाम उच्च स्थानमा पुर्याउने खजुरा क्षेत्रका ख्याति प्राप्त नृत्य निर्देशक तथा बाध्यवादक केबी शाहीलाई सम्मान गरिने क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताउनुभयो ।
शाहीले नृत्य सिकाएका धेरै कलाकारहरु नेपालका बिभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । महोत्सवमा मौलिक तीजको गीत र नृत्यलाई प्रोत्साहित गरिने तथा प्रतियोगितामा भाग नलिने दिदीबहिनीहरुलाई पनि कला प्रदर्शनका लागि स्टेज प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्र सिंह ठकुरीले बताउनुभायो ।
परम्परादेखि ब्रतालुहरु मन्दिरमा पूजा गर्न आउने र खजुराबजारमा आफ्नो पिरमर्कालाई तीजको गीतको माध्यमबाट प्रकट गर्ने गरेको संस्कृतिलाई संयोजन गरि २० वर्ष पहिलेबाट खजुरा क्षेत्र संरक्षण समिति तीज महोत्सवको थालनी गरेको थियो ।
त्यसैको निरन्तरताकारुपमा १८ औं पटक महोत्सव आयोजना गरिएको समितिका सल्लाहकार शिवराज श्रेष्ठले बताउनुभयो । महोत्सवमा स्थानीय विद्यालय, क्लव र महिला समुहले प्रतियोगितामा भाग लिएका छन् भने कार्यक्रमकैबीच लाखे नाच पनि प्रदर्शन हुने छ ।
दर्शकलाई बस्न सुबिधा सम्पन्न टेण्ट र उच्च गुणस्तरको साउण्ड सिस्टमको ब्यवस्था गरिएको मञ्च ब्यवस्थापनका संयोजक रोसन सापकोटाले बताउनुभयो । महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अपेक्षा गरेको छ ।





