
नेपालगन्ज । नेपालगञ्जमा यही पाैष ५ गतेदेखि कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महाेत्सव हुने भएको छ ।
नेपालगन्ज वडा नं-१८ मा रहेको सडक डिभिजन कार्यालयकाे हाताभित्रकाे खुल्ला प्राङगणमा यहि पौष ५ गतेदेखि पौष १७ गतेसम्म कृषिलाई विषेश प्राथमिकता दिदै महोत्सव आयोजना गर्न लागिएको जनाईएको छ ।
ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले संचालन गर्न लागेकाे महाेत्सवबारे बुधबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा सचिवालय संयाेजक नन्द बहादुर बुढाले विगतका महोत्सवमा विविध कार्यक्रम आयोजना गर्दै आएको र यस वर्ष पनि ‘कुक्षी प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित छैठौं नेपालगञ्ज महोत्सव गर्न लागेको जानकारी दिनुभयाे ।
सम्मेलनमा संयाेजक बुढाले भन्नुभयाे, ´हामीले बिशेषत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहुआयामिक र औद्योगिक प्रवर्दन, पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व वहन हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाको संरक्षणमा महाेत्सव गर्न लागिएको हाे । महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान गरेका छौं ।
´महोत्सवलाई उत्कृष्ट बनाउन हामीले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्था/फर्महरु संग समन्वय गरी रहेका छौं । संयोजक बुढाले भन्नुभयो, महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यापारिकलगायत सबै क्षेत्रलाई समेट्ने गरि ३ सय वटा स्टल राखेका छौं । जसमा ५० वटा स्टलहरू कृषि तथा पशुपन्छी, उधमी, लघुउधमीहरू निस्शुल्क छुट्टयाइएको छ ।’
महाेत्सवमा प्रदेशका कृषकहरुलाई सहभागी गराउने र नि:शुल्क विविध तालिम उपलब्ध गराउने व्यवस्था समेत मिलाएको आयाेजकले जनाएको छ ।





