
नेपालगञ्ज । यू-१९ एसिया कपमा नेपाल जितबिहीन बन्दै बाहिरिएको छ । मंगलबार भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको यू-१९ एसिया कपको यात्रा सुखद हुन सकेन ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल २ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।
५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाइ पार गर्यो । भारतका लागि ओपनरद्वय आदर्श सिंहले नटआउट १३ रन र अर्सिन अतुल कलकर्नीले नटआउट ४३ रन जोड्नुभयो ।
त्यसअघि नेपाल ब्याटिङमा भारतविरुद्ध केवल २२.१ ओभर मात्र टिक्न सक्यो । पाँच ओभरदेखि विकेट गुमाउन थालको नेपाल दश ओभर चल्दा महत्वपूर्ण छ विकेट पतन हुँदा संकटमा परेको थियो ।
पहिलोदेखि छैटौं विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो । नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गर्नुभएको थियो ।
नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गर्नुभएको थियो ।
नेपालले सातौं ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमायो । उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड हुनुभयो । यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच हुनुभयो ।
कप्तान देव खनाल नवौ ओभरको पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट हुनुभयो । दुवैलाई राजले नै पेभिलियनको बाटो देखाउनुभएको थियो ।
दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा पर्नुभयो । जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो ।
सातौं विकेटको रुपमा दीपक बोहरा (बी) १२.५ ओभरमा ७ रन जोडेर आउट हुनुभयो । यस्तै दिपेश कँडेल पनि ७ रनमै आउट हुनुभयो । सुवास भण्डारी २ रन र हेमन्त धामी ८ रनमा आउट हुँदा नेपालका कुनै पनि ब्याटर दोहोर अंकमा रन बटुल्न सफल हुनुभएन ।
नेपालले खेलमा केवल ४ चौका मात्र प्रहार गर्न सक्यो । बलिङमा भारतका राज लिम्बानीले ७ विकेट लिनुभयो । उहाँले ९.१ ओभरमा ३ मेडन राख्दा केवल १३ रन मात्र खर्चिनुभयो । उहाँ सुरुवातको ओभरदेखि नै नेपाली ब्याटरमाथि हाबी हुनुभएको थियो ।
यस्तै आराध्य शुक्लाले पनि २ विकेट लिन सफल हुनुभयो । उहाँले ९ ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिनुभयो । समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएसँगै नेपाल यू-१९ एसिया कपमा जितबिहीन बनेर समूह चरणबाटै बाहिरिएको हो ।
यसअघि नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।





