पार्टीभित्र चरम कटुता र नैराश्यता जन्मियो : केन्द्रीय सदस्य बाल्मिकी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्र चरम कटुता र नैराश्यता पैदा हुँदै गएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज (शुक्रबार) पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसंग कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य समेत रहनुभएका बाल्मिकीले पार्टीभित्र नेता तथा कार्यकर्ताका बीचमा बढ्दै गएको कटुताले पार्टी जीवनमा क्षती गरिरहेको बताउनुभएको हो ।

उहाँले अहिलेको अवस्था देखेर नेता कार्यकर्ता तहमा नैराश्यता सिर्जना भएको भन्दै नेतृत्वले गम्भीर आत्मसमिक्षा गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति जवाफदेही हुन नसकेको टिप्पणी गर्दै जनप्रतिनिधिलाई उत्तरदायी बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति पुनले पार्टीलाई मबजुत बनाउनतर्फ लाग्न सबै पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । विधानमा व्यवस्था भए बमोजिम सबै तहका सम्मेलन समयमै गर्न निर्देशन दिँदै उहाँले सबैले आ-आफ्नो जिम्मेवारीमा ध्यान दिए पार्टी संगठन मजबुत र चलायमान हुने बताउनुभयो ।

पार्टीका सबै तहले आफ्ना अधिकारको सही प्रयोग गरेर माथिल्लो तहका निर्देशन कार्यान्वयनका लागि गम्भीरता देखाउनुपर्ने पुनको भनाई छ । पार्टीलाई पद्धतिमा चलाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

‘एक पटक जसले अवसर पाउँछ, उसैलाई नै सधैंभरि अवसर दिइरहनुपर्ने संस्कार मौलाउँदै गएको छ, यो संस्कृति हाम्रो पार्टीमा मात्र होइन, सबैमा छ,’ सभापति पुनले भन्नुभयो, ‘अब आरक्षण एक पटक मात्रै दिने व्यवस्था गर्नुपर्दछ, मैले त यसमा पहिलेदेखि नै वकालत गर्दै आएको छु ।’

उहाँले एकै व्यक्तिले आजीवन अवसर पाइरहने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । सभापति पुनले नेताको भक्तिगान गाएर राजनीतिमा स्थापित हुने गलत संस्कारलाई निरत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।

पार्टी कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला सह-सचिव विनोदकुमार थारु, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, महासमिति सदस्य एवम् पूर्व जिल्ला सचिव कपिल शर्मा लगायतले पार्टी संगठनका विषयमा आ-आफनो धारणा राख्नुभएको थियो ।

Previous articleलागूऔषध दुर्व्यसन विरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण
Next articleइन्धनको मूल्य थप ३ रुपैया घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here