युवा क्लब व्यवस्थापन तथा क्षमता अभिबृद्धि सम्बन्धी दुई दिने तालिम सम्पन्न

नेपालगञ्ज । युवा क्लब व्यवस्थापन तथा क्षमता अभिबृद्धि सम्बन्धी दुई दिने तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । तालिममार्फत सहभागि युवाहरुले युवा क्लबलाई व्यवस्थित तथा सक्रिय बनाउनका लागि कार्ययोजना बनाएका छन् ।

नेपालगञ्जमा रहेका केही युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको तालिम मंसिर २९ र ३० गते संचालन भएको थियो । तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले युवा क्लबलाई सहज तरिकाले संचालनका लागि स्वयं युवा साथीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।उहाँले युवा क्लबमा बसेर मात्रै युवाहरुको क्षमता बिकास नहुने भएको हुँदा सक्रियताका साथ सामाजिक कार्यमा युवा क्लब लाग्नुपर्ने बताउनुभयो । युवा क्लब युवाहरुलाई अनुशासन, नीति नियम, सम्मान, असल व्यवहार, असल कार्य गर्न प्रेरित गर्ने थलो भएकाले यसमा रहने सदस्य सदैव क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ का वडाअध्यक्ष तरुण बज्राचार्यले युवा क्लबले धेरै कुरा सिकाउने र यसबाट हुने सिकाईले जीवनका हरेक समयमा धेरै सहयोगी हुने बताउनुभयो ।‘युवा क्लब, समूह संगठनले तपाईमा क्षमताको बिकास गर्छ,’ वडाअध्यक्ष बज्राचार्यले भन्नुभयो, ‘त्यो क्षमता बिकास भनेको तपाईको सक्रियताले निर्धारण गर्छ ।’ क्लबले भविष्यमा राम्रो गर्दै जाने शुभकामना व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य, सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च बाँकेद्वारा नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।

मञ्चका अध्यक्ष चम्प सिंह थापा मगरको अध्यक्षतामा समापन भएको तालिममा नेपालगञ्ज वडा नं-२, ८, १२, २१ र २२ मा रहेका युवा क्लबका ६ जना पदाधिकारीहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठ, अनुगमन तथा मुल्याँकन अधिकृत शान्त चौधरी र कार्यक्रम अधिकृत अधिकृत बृजेश ठाकुरले सहज व्यवस्थापन गर्नुका साथै संस्थाका बारेमा प्रकाश पार्नुभएको तालिमलाई साहिल अन्सारी र भिष्म लोधले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी सहभागि सबै युवा क्लबलाई आवश्यक सामाग्री प्रदान गरिएको छ । युवा क्लब संचालन तथा खेलकुदका लागि आवश्यक पर्ने रजिष्टर, माइनट, रिंग फाईलसहितको शैक्षिक सामाग्री तथा क्रिकेट व्याट र बल प्रदान गरिएको छ ।

Previous articleस्वास्थ्य बिमामार्फत अब तीन महिनाको औषधी एकै पटक पाउने
Next articleनेपालगन्जमा अर्को फुट्सल हब संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here