
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ ।
पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हो । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ ।
घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो । सडकमा जथाभावी फोहोर फालेमा अबदेखि नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरीसहित आजदेखि सडकमै उत्रिएर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ ।
“नगरबासीलाई सचेत बनाउन हिंडेका छौं, पटक पटक यो कुरा भन्दै आएका छौं, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभावी फोहोर फालेमा कारबाही गर्छौं, हाम्रो ऐन अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ,” नगर प्रमुख विष्टले भन्नुभयो । अटेर गरे पसल व्यवसाय समेत बन्द गरिदिने चेतावनी दिइएको छ ।
पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको हो । नगरबासी आफैं सचेत र जागरुक हुनुपर्नेमा पटक पटक भनिरहँदा पनि जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि सचेतनासंगै कारबाहीको नीति अख्तियार गर्नुपरेको उहाँको भनाई छ ।
घरदैलोमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताउनुभयो । यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाई छ ।
‘आफ्नो फोहोर आफ्नै डस्टविनमा’ अभियान सुरु गरेर नेपालगञ्ज उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यमा हातेमालो गरिरहेका सरसफाई अभियन्ता गोपाल गिरीले अटेर गरे अब तत्काल जरिवाना लगाउनुपर्ने बताउनु्भयो । “सचेतीकरण धेरै भइसक्यो, अब एक्सनमा जानुपर्दछ, फोहोर गर्ने अधिकार कसैलाई छैन, नगरबासीहरु गैरजिम्मेवार बन्न मिल्दैन,” गिरीले भन्नुभयो ।
घरदैलो अभियानमा वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सहभगि हुनुभएको थियो ।





