
गेरूवा । सरस्वती आधारभूत विद्यालय गेरुवा गाउँपालिका वडा नं-३ बनकट्टीमा निर्माण भएको लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको छ ।
शाैचालय निर्माण भएपछि विद्यालयमा पठन–पाठन क्रियाकलाप सहज हुने भएको छ । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत बि-ग्रुप, प्लान इन्टरनेशनल नेपालको साझेदारी र गेरुवा गााउँपालिकाको समन्वयमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको थियो ।
एक कार्यक्रमबीच संस्थाले विद्यालयलाई लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरेको हो । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शैक्षिक क्षेत्रको सुधारमा पालिका सदैव दृढ भएर लागेको बताउँदै शौचालय निर्माणमा बि-ग्रुप, प्लान इन्टरनेशनल नेपालको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा बि-ग्रपका कार्यकारी निर्देशक डम्मर सुनारले शिक्षलाई गुणस्तर बनाउन विभिन्न कुराहरुको आवश्यकता पर्ने भएकोले पूर्वाधार निर्माण पनि महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थान हुन नसक्दा कक्षा छोड्ने अवस्था सृजना हुन सक्ने बताउँदै शौचालय निर्माणले यसलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकाहरु नियमित कक्षामा सहभागि गराउन सके बाल विवाहका घटनाहरु समेत कम हुने भएकोले यसलाई प्राथमिकता दिइएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेले हेर्दा सानो देखिएतापनि शौचालय निर्माण हुनुले शिक्षण सिकाई क्रियाकलापमा ठुलो महत्व राख्ने बताउनुभयो ।
बालबालिकाहरु निरन्तर शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन सके बाल विवाह रोकथाममा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी समेत उपस्थिति रहेकाे कार्यक्रमको संचालन विद्यालयका शिक्षक हिमाल खनालले गर्नुभएको थियो । १४ लाख ५५ हजार ९ सय ६ रुपैैँया ३७ पैसा लागतमा साे शाैचालय भवन निर्माण गरिएको हो ।





