राससले शुरु गर्यो अवधी भाषामा समाचार सेवा

काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो

नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा अवधी भाषाको समाचार सेवा सुरु गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिनुभयो । उहाँले मातृभाषामा समाचार सम्प्रेषण गरेर राससले राज्यको समावेशी नीतिलाई प्रवद्र्धन गरेको बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय २४ मातृभाषा रहेकोमा मध्यपश्चिम तराईमा बोलिने अवधी भाषी कूल जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत छन् ।

यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्दै आएको थियो । अन्य मातृभाषामा समाचार सेवा सुरु गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको महाप्रबन्धक राईले जानकारी दिनुभयो ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने उहाँको विश्वास छ । मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

Previous articleमहिला उद्यमीहरुलाई प्रोत्साहित गर्न भोलिदेखि नेपालगञ्जमा प्रदेशस्तरीय प्रदर्शनी
Next articleअवैध इ-रिक्सा नष्ट गर्न शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here