
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाका सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनाल तथा शहरी बिकास मन्त्रीको बिशेष उपस्थितिमा बुधबार यहाँका सिकलसेल, हेमोफिलियाका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो ।
राप्तीसोनारीमा निदान भएका ३३ जना बिरामीको बिमा कागज बिरामीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खनालले सिकलसेल लगायतका हाल बढदो प्रकोपमा रहेका नसर्ने रोगको नियन्त्रण, रोकथाम तथा उपचार ब्यवस्थापनमा सेवाको पहुँच नपुगेका नागरिकलाई सेवाको पहुँच पुर्याउन आधारभुत लगायत बिशिष्टकृत सेवा सर्वसुलभ बनाउन लुम्बिनी प्रदेश सरकार लागि परेको बताउनुभयो ।
शहरी बिकास मन्त्री कृष्णा केसी (नमुना) ले सिकलसेल एनिमियाको रोकथाम उपचारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको र बिगतका बर्षहरुदेखि नै सिकलसेलको निदान, उपचार तथा तथा रोकथामका लागि बजेट तथा कार्यक्रम प्राथमिकतामा रहेको बताउनुभयो । मन्त्री केसीले यसका लागि प्रदेश सरकारबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।
राप्ती सोनारी गाउँपालिका प्रमुख तप्त पौडेलले पालिकाका ९ वटै वडाका थारु समुदायका सबै ब्यक्तिहरुको सिकलसेल जाँच गर्ने योजना रहेकाले त्यसका लागि प्रदेश सरकारले बजेट तथा कार्यक्रममा सहयोग गरि रगत जाँच, उपचार तथा बिमा कार्यक्रममा सहयोग गर्न अनुरोध गर्नुभयो ।
उहाँले भौगोलिक हिसाबमा र जनसंख्याको हिसाबले ठूलो स्थानीय तह भएकोले पालिकाको राप्तीसोनारी अस्पताललाई प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतको अस्पतालमा राख्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सन्जु चौधरी, माया पुन, शुशिला नेपाली, मिना सिद्दिकी, स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थी, स्वास्थ्य निर्देशनालय निर्देशक डा.बिनोद कुमार गिरी, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह लगायतको उपस्थिति रहेकोे थियो ।






