
नेपालगन्ज । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका समितिले भव्य रुपमा मनाउने भएकाे छ ।
नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र सह आयोजनामा नेपाल मगर संघ खजुरा गाउँपालिका, नेपाल मगर संघ डुडुवा गाउँपालिका, नेपाल मगर संघ राप्ती सोनारी गाउँपालिका र नेपाल जनजाति युवा महासंघ बाँकेको सहकार्यमा आफ्नो प्रमुख पर्वका अवसरमा पुस २८ गते शनिवार राँझा एयरपोर्ट पशुपति मन्दिर परिसरमा माघे सकराती भव्य रुपमा मनाउने तयारी गरिएको हाे ।
मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन लुम्बिनी प्रदेश सदस्य माया पुन मगरको उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगरले जानकारी दिनुभयाे ।
माघे सकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ ।
यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूलमाला लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर-घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।
साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति ‘मगर’समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन्। भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम/पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला-साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।
त्यस्तै नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर भन्नुहुन्छ ´बाँकेमा छरिएर बसेका सम्पुर्ण मगरहरु एक होैं यहाँ मगरहरुको बाक्लो उपस्थिति छ तर मगर हरु एक हुन चाहिरहेका छैनन् ।` कारण अब हामी स्वयं मगरहरुले खोज्नु र मगरका पहिचान अस्तित्व र मगर इतिहासका लागि लड्नुपर्ने अवस्था नआउला भन्न नसकिने बताउनुभयाे ।





