
राप्तीसाेनारी । राप्तीसोनारीको गाउँपालिका गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले नौ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गर्नुभएको थियाे । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उहाँले सभामा पेश गर्नुभयाे ।
त्यसैगरी क्याम्पस कोष संचालन कार्यविधि २०८०, पूर्वाधार आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्तीसोनारी मर्मत सम्भार कोष संचालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी ईजाजत प्रमाणपत्र सम्वन्धी कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका अनुदान सम्वन्धी कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उहाँले पेश गर्नुभयाे ।
प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राख्नुभएकाे थियाे ।त्यसबाहेक अन्य कसैले विमती जनाएपछि सभाध्यक्ष समेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गर्नुभयाे । १२ औं र १३ औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ । त्यसैमध्यबाट १४ औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अव गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ ।
गाउँसभामा उपाध्यक्ष मनिषा सिंह थारुद्धारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदनपनि सर्वसम्मत पारित भएको छ । त्यसैगरी सुशासन समिति संयोजक शालिकराम डाँगीद्धारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदनपनि गाउँसभामा सर्वसम्मत पारित भएको छ ।
गाउँसभालाई सम्वोधन गर्ने अधिकांश गाउँसभा सदस्यहरुले पालिकाको सम्बृद्धिका लागि सबैको एकता जरुरी रहेको औल्याएका थिए । उनीहरुले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका सम्बृद्ध बन्ने उदघोष गरेका थिए । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सवैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरु अघि बढिरहेको उल्लेख गर्नुभयाे । कार्यक्रममा पालिकाका उपाध्यक्ष मनिषासिंह थारु, वडा नं-१ का अध्यक्ष यमबहादुर खड्का, वडा नं-३ का अध्यक्ष मिन कुमार चौधरी, ४ का अध्यक्ष मिनराज खड्का, ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष डाँगी र ९ का अध्यक्ष सोहनलाल थारुले आ-आफ्नो धारणा व्यक्त गरेकाे प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयाे ।





