
नेपालगञ्ज । माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालू आर्थिक वर्ष ०८०/०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको छ । शनिवार नेपालगन्जमा भएको संस्थाको १३ औँ वार्षिक साधारण सभामा प्रवन्धक लक्ष्मी काफ्लेले आर्थिक वर्ष ०८०/०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
उक्त सहकारीसँग आव ०७९/०८० सम्म पाँच करोड २५ लाख ९६ हजार ३७९ रुपैयाँ वचत रहेको उक्त संस्थाले चालू आवमा ६ करोड २५ लाख ३५ हजार ६ सय रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएको छ । गत आवमा पाँच हजार ५४ जना शेयर सदस्य रहेको माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्थाले चालू आवमा पाँच हजार सात सय शेयर सदस्य पुर्याउने लक्ष्यका साथ अगाडी बढेको छ ।
संस्थाले चालू आवमा एक करोड ७५ लाख ४४ हजार ५६६ रुपैयाँ आम्दानी गर्ने गरि अगाडी बढेको बताउँदै उनले संस्थासँग १० लाख ३६ हजार ८८१ रुपैयाँ सम्पत्ति रहेको बताउनुभयो । माता वागेश्वरी वचत वचत तथा ऋण सहकारीका अध्यक्ष रसिद अहमद कुरैसीले सहकारीसँग ८८ लाख ७५ हजार शेयर पुञ्जी रहेको जानकारी दिनुभयो ।
उहाँले ३३ लाख १८ हजार ७४५ रुपैयाँ जगेडा तथा अन्य कोषमा रहेको बताउँदै आठ लाख २२ हजार २२० रुपैयाँ बैँकमा मौज्दात रहेको बताउनुभयो । उहाँले सहकारी ऐन, नीति, नियम र परिधिभित्र रहेर सहकारी संचालन गरेको बताउँदै वचतकर्ताको रकम सुरक्षित गर्न सहकारीले दृढ संकल्प लिएको स्पष्ट पार्नुभयो ।
नियमित लेखा परीक्षण गरि सहकारीलाई पारदर्शी बनाएको दावी गर्दै अध्यक्ष कुरैसीले शेयर सदस्यको सहभागितामा साधारणसभा गर्दै आएको जानकारी दिनुभयो । प्रमुख अतिथि लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले सहकारी प्रति जनताको विश्वास घट्दै गएकोले पारदर्शी भएर सहकारी संचालन गर्न आग्रह गर्नुभयो ।
माता वागेश्वरी वचत तथा ऋण सहकारीले जिल्लामै उत्कृष्ट काम गरेको बताउँदै उनले वचतकर्ताको रकम सुरक्षित राख्न सकेमात्र जनताको विश्वास बढ्ने बताउनुभयो । ‘जनताको पैँसा खाएर सहकारी भागेको भन्ने सुनेर सहकारी प्रति वचतकर्ताको विश्वास घट्दै गएको छ । जनतालाई विश्वास दिलाएमात्र सहकारी संचालन गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
नेपालगञ्जका उपमेयर कमरुद्धिन राईले सहकारीले तल्लोस्तरका नागरिकलाई समेटेको बताउँदै आफ्नो गास काटेर वचत गरेको रकमको सुरक्षा गर्ने दायित्व सहकारीको भएको बताउनुभयो । उहाँले सहकारीको लक्ष्य र उद्देश्य अनुरुप काम गर्न आग्रह गर्दै आगामी दिनमा अझ राम्रो काम गर्न सुझाव दिनुभयो ।
सो अवसरमा सहकारी बैँकका केन्द्रीय संचालक समितिका सदस्य विजया धिताल, सहकारी वैँक नेपालगञ्जका प्रवन्धक प्रकाश थपलिया, जिल्ला वचत तथा ऋण सहकारी संघका प्रमुख हिरा खराल, सन नेपाल इन्स्योरेन्सका प्रवन्धक कमल शाही लगायतले सहकारीको बारेमा विचार राख्नुभएको थियो ।





