कोहलपुर मेयर कपमा फर्जी खेलाडी प्रकरणः समितिद्वारा प्रतिवेदन सार्वजनिक

कोहलपुर । कोहलपुर नगरपालिकाले आयोजना गरेको सातौं नगरस्तरीय मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितामा विद्यालयहरुले फर्जी खेलाडीहरु खेलाएको भन्ने बिषयमा सत्यतथ्य छानविन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमकाबीच समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले प्रतिवेदन सावर्जनिक गर्दै प्रतियोगितामा सहभागिता जनाएका विद्यालयमध्ये ६ वटा विद्यालयले फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेको निष्कर्ष निकालिएको जानकारी दिनुभयाे ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ । त्यसैगरी ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको समितिले निष्कर्ष निकालेको छ ।

यस्तै एभरेष्ट सैनिक मावि प्रेमनगरले पनि छात्रतर्फको भलिवलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिले निष्कर्ष निकालेको छ । यस्तै ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा ओभर एजको खेलाडी सहभागि गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागि गराएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सगरमाथा ज्ञानपुञ्ज मावि किरण नालाले पनि छात्र भलिवलमा फर्जी खेलाडी खेलाएको उजुरी समितिमा परेको थियो । यद्यपी सगरमाथा ज्ञानपुञ्जले फर्जी खेलाडी नखेलाएको भएपनि खेलाडीको समयमै सक्कल कागजात पेश गर्न भने विद्यालय असफल भएको समितिको प्रतिवेदनमा भनिएको छ ।

फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरि दण्डित गरिने छ । पुस १० गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरु खेलाइएको बिषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएको थियो ।

समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य थिए । कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघका प्रतिनिधि, प्याव्सनका प्रतिनिधिसहित वृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतिवेदन अक्षरंश कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयाे ।

उहाँले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बाउने सवालमा कसैसँग सम्झौता नगरिने चेतावनी दिनुभयाे । उहाँले शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा आफु रहेकाले विकृत कुरालाई स्वीकार गर्न नसकिने स्पष्ट सन्देश दिनुभयाे ।

‘आफ्ना विद्यालय पास गराउन चिट चोराउनै पर्ने, खेल जिताउन फर्जी खेलाडी हाल्नै पर्ने यो विकृत मानसिकता संस्कृतिकारुपमा रहेको छ, उहाँले भन्नुभयो, ‘विकृत कुरालाई संस्कृति बनाउन सकिदैन । अव यो कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन् ।’ यस्तै प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रतियोगितामा सहभागि भएपछि खेल जित्नै पर्ने मानसिकता बदल्न सुझाव दिनुभयाे ।

सवैभन्दा मर्यादित र जिम्मेवार पेशा शिक्षण पेशा भएकाले शिक्षकहरुले फर्जी खेलाडी खेलाएर गलत सन्देश दिएको भन्दै सुधार गर्न निर्देशन दिनुभयाे । प्याव्सन बाँकेका अध्यक्ष यम रावतले फर्जी खेलाडी खेलाएर पुरस्कार जित्ने संस्कार राम्रो नभएको भन्दै त्यस्ता विद्यालय तथा संलग्नहरुलाई कारवाही गरिनु पर्ने चेतावनी दिनुभयाे ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिता कोहलपुर नगरपालिकाको पहिचानसँग पनि जोडिएकाले केही कमि कमजोरीका बाबजुत पनि सफल भएको बताउनुभयाे ।

शिक्षा शाखा अधिकृत शीला गौतमले सहजीकरण गरेको उक्त कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले विगतका कमि कमजोरीलाई सुधार गर्दै आगामी प्रतियोगितामा यस्ता गल्ती दोहोर्याउन नहुनेमा जोड दिएका थिए ।

Previous articleयुवा नेता पटेल मन्त्री डा.महतोको सल्लाहकारमा नियुक्त
Next articleलिजा सार्वजनिक गर्ने पहिलो पालिका बन्यो राप्तीसोनारी, सुधारमा छलाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here