छात्रा प्रोत्साहन अन्तर्गत एसइई पास गरेकालाई साइकिल वितरण

डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो ।

२०७९ सालमा एसइइ पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकिल वितरण गरिएको शिक्षा शाखाका स्रोत व्यक्ती राम एकबाल मण्डलले बताउनुभयो ।

आइतबार पालिका कार्यालयमा आयोजित एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै पालिकाभित्र संचालित विद्यालयहरुमा शैक्षिक गुणस्तरियताका लागि पहिलो चरणमा आधारभुत विद्यालयलाई सिसि क्यामरामार्फत निगरानी सुरु गरिएको बताउनुभयो ।

उहाँले डुडुवाले संस्कार शिक्षालाई जोड दिदै आगामी शैक्षिक सत्रबाट स्थानीय पाठयक्रम तयार गरि लागु गर्न लागेको बताउनुभयो । आ-आफ्नो घरमा नैतिकतासंगै संस्कारको बाताबरण तयार गर्न यो शिक्षा दिन लागेको उहाँको भनाई छ ।

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

Previous articleसंस्थागत विद्यालयमा शिक्षकको न्यूनतम पारिश्रमिक ग्यारेन्टी गराउँदै कोहलपुर
Next articleसरकारले सहज र निःशुल्क रगत व्यवस्था गर्नुपर्ने माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here