
नेपालगञ्ज । नेपाली काँग्रेसका नेता गजेन्द्र बहादुर हमालले महासमिति सदस्यबाट राजीनामा दिनुभएको छ । आइतबार बाँके पार्टी कार्यालयमा राजीनामा बुझाएको पश्चात पत्रकारसंग भेटघाट गर्दै जानकारी दिनुभएको हो ।
फाल्गुन ७ देखि १० गतेसम्म ललितपुरमा सम्पन्न महासमिति बैठकमा हमालले सनातन हिन्दु राष्ट्रको एजेण्डलाई महासमिति बैठकमा प्रवेश गराउनुपर्ने अभियानका पक्षमा हस्ताक्षर गर्नुभएको थियो । यो अभियानका पक्षमा उहाँलगायत १०४६ जना महासमिति सदस्यले हस्ताक्षर गरेर पार्टी नेतृत्वमाथि दबाब बढाउनुभएको थियो ।
हमालले हिन्दु राष्ट्रको माग राख्दै ५० प्रतिशत भन्दा बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरी बुझाएको पत्र दर्ता मात्र गरिएको तर महासमिति बैठकमा प्रवेश नगराइएपछि आफूहरुको मागको उपेक्षा गरिएको हुँदा हिन्दु राष्ट्रको एजेण्डलाई सफल बनाउन नसकेको भन्दै नैतिकताको आधारमा महासमिति सदस्यको पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।
हिन्दु राष्ट्र स्थापनार्थ सञ्चालित महाअभियानलाई सार्थक बनाउन निरन्तर लागिरहने उहाँको भनाई छ । ूअब गाउँ गाउँ पुगेर यो अभियानलाई अगाडि बढाउँछु,ू राजीनामा पत्र बुझाएपछि पत्रकारहरुसंगको भेटमा उहाँले भन्नुभयो, सनातन बैदिक धर्मलाई कमजोर बनाउने षड्यन्त्र निरन्तर भइरहेकोले म यो अभियानलाई जोडतोडले अगाडि बढाउन दृढ छु, हाम्रो संस्कार र संस्कृति जोगाउन आवश्यक छ, त्यसका लागि हिन्दु राष्ट्र अनिवार्य छ ।
नेपाली कांग्रेस बाँकेका पूर्व सभापति रहनुभएका हमाल पूर्व मन्त्री समेत हुनुहुन्छ । उहाँले आफू कांग्रेस छाडेर कतै नजाने र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न पनि नछाड्ने दृढता व्यक्त गर्नुभयो । बाँके क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा निर्वाचित हमालले महासमिति बैठक सकिएको दिन राजीनामा दिने घोषणा गर्नुभएको थियो ।





