
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पूनर्निमाणमा खटिएका साझेदार संघ संस्थाहरुसंग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडामा केन्द्रविन्दु भएर गएको बिनासकारी भूकम्पको कारण आठविसकोट नगरपालिकामा ठुलो धनजनको क्षति भएपश्चात नगरपालिकाभित्र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी संघसंस्थाहरुले राहत तथा पुननिर्माण क्षेत्रमा काम गरिरहेका छन ।
अक्फाम नेपालको आर्थिक सहयोग र बीग्रुपको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा पालिकाभित्र कार्यरत १६ वटा साझेदार संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिहरुले भूकम्प पश्चात प्रभावित क्षेत्रमा राहत तथा पुर्नस्थापनामा गरेका कामहरु र आगमी दिनहरुमा गर्ने कामको लक्ष्यका सम्बन्धमा आआफ्नो प्रस्तुति राखेका थिए ।
नगरपालिकासंग प्रत्यक्ष सहकार्य गरेर काम गरिरहेका संघसंस्थाहरुमा अक्सफाम नेपालको आर्थिक सहयोगमा भेरी वातावरणिष विशिष्टता समूह (बिग्रुप) रुकुम पश्चिम, नेपाल रेडक्रस सोसाइटी, बास नेपाल, नेपाल ग्रामीण पुनर्निमाण संस्था, रुकुमेली समाज विकास केन्द्र, एस.के.एच., सोसेक नेपाल, सिएमसि नेपाल, युएनडिपी, टिपिओ, एचआरडिसी, सि.आर.एस. तथा कारितास नेपाल, ओरेक नेपाल, यार्सन नेपाल लगाएतका संस्थाहरु छन् ।
साझेदार संघ संस्थाहरुले पहिलो चरणमा राहत तथा पुर्नस्थापना केन्द्रित रहेर काम गरेको र दोस्रो चरणको कार्यक्रम पुनर्निर्माणमा लक्षित रहेको आफ्ना प्रस्तुतिहरुमा राखेका थिए । अन्तरक्रियालाई सम्बोधन गर्दै आठविसकोटका नगर प्रमूख रवि के.सीले भूकम्पले क्षदविक्षद भएका मनहरुलाई राहत तथा पुनर्निर्माणमा आठविसकोट सरकारसंग हातेमालो गरर्ने सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद ज्ञापान गर्नुभयो ।
उहाँले नगरपालिकालाई परेको बिपत्तीको सामना सरकारीस्तरबाट मात्रै गर्न सम्भव नभएको बेला संघ संस्थाबाट राहत तथा पुर्नस्थापनामा पुर्याएको सहयोग अतुलनीय रहेको बताउनुभयो । अहिले गाउँ गाउँमा जुन सहजताको वातावरण सृजना भएको छ त्यो अवस्था ल्याउन संस्थाहरुको अविश्मरणीय भूमिका रहेको छ ।
त्यस्तै नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत इन्द्र वहादुर बिष्टले भूकम्पको पिडामा मल्हम लगाउने साझेदार संघसंस्थाहरु धन्यवाददका पात्र भएको बताउनुभयो । उहाँले सबै संघसंस्थाहरुलाई आफ्नो कामको प्रगती विवरण नगरपालिकामा बुझाउन समेत आग्रह गर्दै अबको आवश्यकतालाई पहिचान गदै सबै क्षेत्रको पुनःनिर्माणमा सहयोग ल्याउन अनुरोध पनि गर्नु भएको थियो ।
संघ संस्थाहरुले गरेको कामको प्रगति प्रतिवेदन बुझाउँदा सरकारी स्तरबाट योजना निर्माण गर्दा दोहोरो नपर्ने र प्रभावकारी हुने बताउनुभयो । कार्यक्रमलाई विपत् सम्पर्क व्यक्ति मान वहादुर बटालाले संचालन गर्नुभएको थियो ।





