सहकारीलाई कोपोमिस सम्बन्धि तीन दिने तालिम प्रदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सहकारीलाई सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धि तीन दिने तालिम दिइएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका कोपोमिस हेर्ने कर्मचारीका लागि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको सहकारी शाखाले जनाएको छ ।

तीन दिने तालिमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास संयोजक गोपाल पुनले सिकेका कुरालाई व्यवहारमा अक्षरश: लागू गर्न आग्रह गर्नुभयो ।

पुनले सहकारी अभियानलाई स्वस्थ, विश्वसनीय र उत्तरदायी बनाउन नेपालगन्ज उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले सहकारीले पनि आमनागरिकको विश्वास जित्ने गरी काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रशिक्षार्थीलाई पुनले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षकका तर्फबाट नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमाला तथा प्रशिक्षार्थीबाट रुपक श्रेष्ठ र चन्द्रा आचार्यले बोल्नुभएको थियो ।

कोपोमिस एउटा सफ्टवेयर हो । यो सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो । 

यसले सहकारी संघ-संस्थाहरूको संचालन, ब्यवस्थापन तथा कार्यक्षमतामा अभिवृद्धि गरी जोखिमलाई न्युनीकरण गर्ने कामहरु गर्दछ । सहकारीहरुले मासिकरुपमा आफ्ना सम्पूर्ण विवरण, कार्यप्रगति लगायतका गतिविधि कोपोमिसमा अद्यावधिक गर्नुपर्दछ ।

जसले नियामक निकायलाई आवश्यक अनुगमन र नियन्त्रणका लागि सहयोग पुग्दछ । तालिममा सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख धमालाले प्रशिक्षण दिनुभएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताउनुभयो ।

सहकारी संघ-संस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन,  प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताउनुभयो ।

Previous articleराष्ट्रिय महिला हक्की प्रतियोगिता : लुम्बिनीद्वारा बगमती पराजित
Next articleदादुरा रुबेला बिरुद्धको अभियान : ६३ प्रतिशतसम्म पुग्यो खोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here