
नेपालगञ्ज । बाँकेकाे कोहलपुरमा २८ वर्षपछि आयोजना भएको चार दिने ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य तथा एन्फाको सहयोगमा सञ्चालन भएको ‘डी’ लाइसेन्सकाे उक्त कोचिङ्ग कोर्षकाे कोहलपुरमा एक कार्यक्रममको आयोजना गरेर समापन गरिएको हो ।
कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमणपत्रसमेत हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले उनीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले उक्त तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयाे । साथै उहाँले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताउनुभयाे ।
साथै मेयर आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताउनुभयाे । उहाँले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरकाे दाइत्यो रहेको बताउनुभयाे ।
बाँके जिल्ला फुटबल संघकाे गठनपश्चात पहिलोपटक कोहलपुरमा २८ वर्षपछि ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीकाे सहभागीता रहेको थियाे ।
चार दिनसम्म कोहलपुरकाे १३ बिघामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनुभएकाे थियाे । साथै उनीहरुलाई मेयर आचार्यले मायाको चिनोसमेत प्रदान गर्नुभएको थियाे ।





