
नेपालञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ४०औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ ।
“विश्वव्यापाी रुपमा अभिप्रेरित, स्थानीयरुपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” मुलनाराका साथ नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखा अन्तर्गत रहेको युवा रेडक्रस सर्कल आर्दश मा.वि. राँझाको आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाईका प्रमुख रामसुरेश यादवले रेडक्रस एक परोकारी संस्था रहेकाे र यसका आधारभूत सिद्धान्त शिक्षा क्षेत्रका लागि प्रेरणदायी रहेको उल्लेख गर्नुभयो । उहाँले इकाईको तर्फबाट रेडक्रसलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै जिल्लाका सबै मा.वि. र आधारभूत विद्यालयहरुमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गर्न अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह ´सम्झना`ले जुनियर तथा युवा सर्कललाई सक्रिय पार्न उपशाखाले योजनावद्ध कार्य गर्नुपर्ने जोड दिनुभयो ।
३६ वटा सर्कलको सहभागितामा सम्पन्न गोष्ठीको बन्दसत्रमा शैक्षिक सत्र २०८१ का लागि ४१औं जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी, प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी, हाजिरीजवाफ, चित्रकला, निबन्ध, कविता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने कार्यक्रमहरु निर्धारण भएको छ ।
यसैगरी गोष्ठीले उपशाखा स्तरमा सर्कल गठन तथा पुर्नगठन अभियान संचालन गर्ने, हरेक सर्कल विद्यालयमा रेडक्रस अभियान प्रचार-प्रसार अभिमुखीकरण, उपशाखा र सर्कलको सक्रियता बढाउन उपशाखा जुरेस संयोजकहरुको गोष्ठी गर्ने र प्रदेश स्तरीय गोष्ठीमा उत्कृष्ट सर्कल/विद्यालयको सहभागिता गराउने लगायत सिफारिस गरिएको छ ।
कार्यक्रममा जिल्ला स्तरीय हाजिरी जवाफ, निबन्ध, कविता र चित्रकला प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार रु. क्रमशः प्रथम १५०० द्वितीय १००० र तृतीय ५०० सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने आतिथ्यता ग्रहण गर्ने सर्कल/विद्यालयलाई प्रंशसा पत्र प्रदान गरिएको थियो भने जिल्ला र उपशाखाको तर्फबाट जुरेस गतिविधिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नेरेसो जुनियर तथा युवा विकास समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका-२० का कार्यवाहक वडा अध्यक्ष चक्र बुढा, युवा रेडक्रस सर्कल आर्दश मा.वि. राँझाका प्र.अ. एवं सर्कल संरक्षक प्रकाश आचार्यले स्वागत मन्तव्य, नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगीले उद्देश्यमाथि प्रकाश, उपशाखाको तर्फबाट बाँके बगिया उपशाखाका सभापति विष्णु सुवेदी, शिक्षक नायकको तर्फबाट ने.रा.आधारभूत विद्यालय राजपुरका शिक्षक नायक दलबहादुर वलीले विचार व्यक्त गर्नु भएको थियो ।
गोष्ठीको सहजीकरण बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गर्नु भएको थियो । कार्यक्रममा तातो हावाको लहर (लू) र भूकम्प प्रतिकार्य सम्बन्धी सन्देश मुलक प्रचार-प्रसार सामग्रीहरुको प्रदर्शनी र वितरण गरिएको थियो ।





