
नेपालञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर (लू) जोखिम सचेतना विषयक विद्यालय शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तातो हावाको जोखिमबाट बचाउन जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले शिक्षकहरुलाई उक्त तालिम दिएको हो ।
तालिममा गर्मी बढनुको कारण, हिटवेभ भनेको के हो ? बच्ने उपाय, जोखिममा पर्ने समुह, आगामी दिनमा गरिने कार्यलगायतका विषयमा प्रशिक्षण दिएको छ भने विद्यालय स्तरमा संचालन गरिने अभिमुखीकरणको कार्ययोजना समेत निर्माण भएको छ ।
अमेरिकन रेडक्रसको सहयोग र नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालञ्जमा लूको जोखिम व्यवस्थापन कार्यक्रम संचालन भइरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले तातो हावाको लहरबाट हुने जोखिम कम गर्न रेडक्रसको सहकार्यमा उपमहानगरापालिका क्षेत्रमा जनचेतना अभिवृद्धि गरिरहेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको प्रभाव सबै वर्ग र समुहमा हुने गरेको जस मध्ये बालबालिका, बृद्धा र दिर्घरोगी बढी प्रभावित हुने गरेको बताउनु भयो ।
उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरखबहादुर थापा, वातावरण इन्जिनीयर एवं विपद् फोकल पर्सन प्रकाश डि.सी. र नेरेसो बाँके शाखाका उपनिर्देश दोलखबहादुर डाँगीले लूको बारेमा सहजीकरण गर्नु भएको थियो ।
रेडक्रस बाँकेका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत उपमहानगरपालिका क्षेत्रका २३ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।





