
नेपालगञ्ज । बिश्व मृगौला दिवसको अवसरमा नेपालगञ्जमा पहिलो पटक प्रभातफेरी कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले प्रभातफेरीको आयोजना गर्दै दिवस मनाएको हो ।
यस वर्ष नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहीबार बिहान नेपालगञ्जमा प्रभातफेरी कार्यक्रम गरेको छ ।उपमहानगर कार्यालयबाट शुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवन रायमाझी, बाँकेका एसपी सुभाष चन्द्र बोहरा, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका नेफ्रोलोजिष्ट डा.सौरभ हमाल लगायतले मृर्गौला रोगको जोखिम कम गर्न आफै सचेत हुनुपर्ने धारणा राख्नुभएको थियो ।
नेपालगञ्जका नगर उपप्रमुख कमरुद्दिन राई, बिभिन्न वडाका वडाअध्यक्षहरु, नेपालगञ्ज नर्सिङ क्याम्पस, कैलपाल अस्पताल एण्ड कलेज, कलेज अफ अलाईड, नेपालगञ्ज हेल्थ क्याम्पसका शिक्षक, विद्यार्थीहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकार्य गर्ने लक्ष्मी सरस्वती पोलिक्लिनिकले वाजा, टि-सर्ट र चियापानको व्यवस्था गरेको थियो । विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा आज विश्व मृगौला दिवस मनाइएको हो ।





