जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति (जिसस) बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ ।

सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सामुदायिक सहभागितामा काम गर्न समेत आग्रह गर्नुभयो ।

‘यो धेरै मानिसहरु आवतजावत गर्ने बाटो हो, बर्खामा डुबान हुने क्षेत्र पनि हो, फुल्टेक्रादेखि अन्य गाउँहरु तथा विभिन्न कार्यालयहरु आउने जाने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो, नगर प्रमुख विष्टले भन्नुभयो, सडक स्तरोन्नतिपछि सबैलाई सहज हुनेछ ।’ नगरमा सडक सञ्जाल विस्तार, स्तरोन्नति र नाला निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख विष्टको भनाई छ ।

सुशान्त निर्माण सेवाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाकी इन्जिनिययर ईश्वरी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार भ्याट पि.एस.बाहेक ४७ लाख ४६ हजार रुपैयाँमा उक्त योजना निर्माण गरिँदैछ ।

सडक आरसीसी ढलान, अस्फाल्ट पीचसंगै नाला निर्माण कार्य समेत गरिनेछ । निर्माण कम्पनीका प्रोप्राइटर शिवा यादवले निर्धारित मितिमै गुणस्तरीय काम सम्पन्न गरिने बताउनुभयो ।

Previous articleनेपालगञ्जमा फिल्म फेस्टिभल हुँदै
Next articleनरैनापुरको सार्वजनिक पोखरीमा संरचना नबनाउन अदालतको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here