
नेपालगञ्ज । टेन्डम साईकलमा महाकाली-मेची यात्रा गर्ने दुई जनालाई नेपालगञ्जमा विहीबार सम्मान गरिएको छ । दुई जनाले चलाउन मिल्ने टेन्डम साईकलमार्फत महाकाली-मेची साहसिक यात्रा गर्नुभएका रमेश मल्ल र शतिश निरौलालाई गृह जिल्लामा विहीबार सम्मानित गरिएको हो ।
नेपाल मै सर्वप्रथम टेण्डम साइकलबाट महाकाली-मेची साहसिक यात्रा गर्ने दुई जनालाई गृह जिल्ला बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज साइक्लिङ्ग क्ल्बले एक कार्यक्रमबीच स्वागत एवं सम्मान प्रदान गरेको छ ।
२०८० फाल्गुन २४ गतेदेखि साईकल यात्रा शुरु गरेर चैत्र ५ गते सम्पन्न गर्दै महाकालीको कुतियाकवरदेखि मेचीको केचनाकवलसम्मको यात्रा गर्ने दुबै जना पहिलो नेपाली टेन्डम साईकल यात्री हुन समेत सफल भएका छन् ।
दुई जनाले गरेको साहसिक यात्राले धेरैलाई गर्व र प्रेरणा प्रदान गरेको साईकलिष्ट समेत रहनुभएका नेपालगञ्ज वडा नं-२ का निवर्तमान वडाअध्यक्ष सुनिल सिंह हमालले बताउनुभयो । यात्राको प्रारम्भदेखि अन्त्यसम्मको यात्रा स्मरण सुन्दा सबै ठाउँका साइकल चलाउनेहरुको साथ भएको उहाँले बताउनुभयो ।
साइकलबाट धेरै व्यक्तिले विश्व यात्राका साथै नेपाल यात्रा गरेको पनि गरेका छन् । तर पनि यस्तो खाले साइकल यात्रा गर्ने बिरलै पाइने गरेको क्लबले दावी गरेको छ । उहाँहरुले आफ्नो निजी जीवनलाई साइकलको माध्यमबाट स्वर्णिम अक्षरले नाम लेखाउन सफल हुनु भएको क्लबका अध्यक्ष गगन थापाले खुशी व्यक्त गर्नुभयो ।
साहसिक यात्रा गर्ने दुबै जना साईकल यात्रीले १११५ किलोमिटरको यात्रा पुरा गरेका हुन् । निरौला क्लबका सल्लाहकार तथा मल्ल क्लबका पूर्व उपाध्यक्ष हुनुहुन्छ । दुई जनाले एउटै साईकलमा सवार भइ चलाउन मिल्ने साईकललाई टेन्डम साईकल भनिन्छ ।






