
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ को खलवा पुरैनीमा गुरुकुल भवनको सिलान्यास गरिएको छ । धार्मिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले बुधबार धार्मिक अनुष्ठानसहित गुरुकुल भवनको सिलान्यास गरिएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले संयुक्त रुपमा भवन निर्माण कार्यको सिलान्यास गर्नुभएको थियो । स्थानीयको अथक साथ सहयोग तथा दाताहरुको सहकार्यमा लामोसमयको प्रयासपछि यहाँ गुरुकुल भवनको निर्माण शुरु भएको स्थानीय अजय साहनीले जानकारी दिनुभयो ।
करिब पाँच वर्षपछि यो कार्यलाई सफल बनाउन लागिरहेको उहाँले बताउनुभयो । भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य टेन्डरमार्फत संचालन भएको छ । नेपालगञ्जका एक जना दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता भएको हो ।
सनातन धर्मको शिक्षा प्रदान गरिने गुरुकुलका लागि प्रदेश सरकारले बजेट प्रदान गरेको छ । भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख बजेट उपलब्ध गराएको जिल्ला समन्वय समिति बाँकेका निवर्तमान सदस्य चेत बहादुर घर्तिले जानकारी दिनुभयो ।
अहिले मानव मानवबीच व्यवहारिकता र धर्मबारे ज्ञानको कमि भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तिको भनाई छ । ‘गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ,’ सदस्य घर्तिले भन्नुभयो, ‘यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धर्मिक ज्ञान प्रदान गर्छ । र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ ।’





