
नेपालगञ्ज । आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली टिमले लगाउने जर्सी सोमबार सार्वजनिक गरेको हो ।
निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ । यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जुन ४ मा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गरेको विश्वकपमा समूह चरणका खेल जुन १ देखि १८ सम्म हुने छन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन् ।





