
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२१ स्थित बिर्ता गाउँका २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँको हत्यारा पत्ता नलागेकोले आफन्तले खाँको शव बुझ्न मानेका थिएनन् ।
तर प्रहरीले तीव्र गतिमा अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएपछि आफन्तले बुधवार खाँको शव बुझेर ईस्लामिक परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा अन्तिम संस्कार गरेको छ ।
प्रहरीले अनुसन्धानको नाममा परिवारका सदस्यलाई झुक्याइरहेकोले हालसम्म शव नबुझेको मृतक अरबीका काका अब्दुल रहमान खाँले बताउनुभयो । उहाँले प्रहरीले अनुसन्धानलाई तीव्र पारेर छिट्टै हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएपछि दश दिनपछि शव बुझेर अन्तिम संस्कार गरिएको बताउनुभयो ।
यसअघि प्रहरीले अनुसन्धान भइरहेको छ नआत्तिनुस् भनेर आश्वासन मात्रै दिँदै आएको परिवारको गुनासो छ । वास्तविक अपराधी पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट हत्याको कुनै सुराक फेला नपरेपछि सिआइबीको टोली मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थप अनुसन्धानका लागि सिआइबीको टोली मगाउन परिपत्र गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।





