जानकीका विद्यालयमा सरसफाई परियोजना संचालन हुने

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका विद्यालय लक्षित सरसफाई परियोजना संचालन हुने भएको छ । परियोजनाले पालिकामा रहेका विद्यालयहरुमा सरसफाईलाई प्राथमिकता दिनेछ ।

बाँकेमा रहेको सामाजिक विकास मंच (एस डिएफ) बाँकेले वल्र्ड भिजन इन्टरनेशनलको सहकार्यमा हातेमालो परियोजना अन्तर्गत उक्त गतिबिधि गर्ने भएको जानकारी गराएको छ । बिहीबार नेपालगन्जमा एक परिचयात्मक तथा समन्वयात्मक बैठक आयोजना गरेर संस्थाले पालिकाका विद्यालयहरुमा सरसफाई कार्यक्रम संचालन गर्न लागेको जनाएको हो ।

यस कार्यक्रम अन्तर्गत पालिकाभरिका दश वटा विद्यालयमा कार्यक्रम संचालन गरिनेछ । करिब दुई करोड १२ लाख बजेट अन्तर्गत ७१ प्रतिशत विद्यालयको सरसफाई क्षेत्रमा निर्माण कार्यमा खर्च गरिने र बाँकी २९ प्रतिशत संस्थाले कर्मचारीको तलब तथा गतिबिधिमा खर्च गर्नेछ ।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्ररशुराम उपाध्यायले शैक्षिक क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी भएकाले संस्थासंग सहकार्य गरिएको बताउनुभयो । त्यस्तै संस्थाले आफ्नो पालिकालाई छनौट गरेको धन्यवाद दिँदै परियोजना संचालनका लागि आवश्यक समन्वय तथा सहकार्य निरन्तर दिने बताउनुभयो ।

संस्थाका उपाधयक्ष पार्वती घिमिरेको अध्यक्षतामा भएको परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरु, सामाजिक विकास संयोजक राम अचल धोवी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, हातेमालो परियोजनाका फोकल पर्सन घनश्याम उपाध्याय, वल्र्ड भिजन इन्टरनेशनलका बाँके कार्यक्रम संयोजक तिलक केसी र विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका परियोजनाका बारेमा परियोजना संयोजक भिम बहादुर सार्कीले जानकारी गराउनुभएको शिक्षा अधिकृत सहजराम यादवले जानकारी दिनुभयो । परियोजनाले विद्यालयमा आवश्यकता अनुसार सरसफाईका संरचना निर्माण तथा कार्यमा खर्च गर्नेछ ।

Previous articleजानकीका बाल विकास केन्द्रका शिक्षकलाई क्षमता विकास तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here