
नेपालगञ्ज । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रमुखहरुबीच भारतको श्रावस्तीस्थित भिन्गामा समन्वयात्मक बैठक बसेको छ ।
भारतको श्रावस्ती जिल्लामा हुन लागेको भारतीय लोक सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सीमावर्ती जिल्लाका प्रमुखहरुबीच भिन्गामा समन्वयात्मक बैठक बसी छलफल गरिएको हो ।
बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थापन मुख्य एजेन्डा रहेको भएपनि अवैध हातहतियार ओसार पसार, लागूऔषध नियन्त्रण, मानव तस्करी र सीमा क्षेत्रमा हुन सक्ने अन्य अपराधका बिषयमा छलफल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपराध नियन्त्रणमा दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त निगरानी गर्ने, चेक पोइन्ट स्थापना, संयुक्त गस्ती पेट्रोलिङ्ग गर्ने र दुबै देशका सुरक्षा अधिकारीबीच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने विषयमा छलफल भई सहमति गरिएको छ ।
अगामी मे २५ मा हुन लागेको भारतीय लोकसभा निर्वाचनका समयमा चेकजाँचमा कडाई गर्ने, ७२ घण्टाका लागि सीमाना बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिरा बिक्री बितरण र उपभोगमा रोक लगाउने बिषयमा समेत छलफल भएको प्रजिअ पोखरेलले बताउनुभयो ।
७२ घण्टा सीमानाका बन्द भएको समयमा अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्स लगायतमा निर्वाध संचालन हुन दिइने छलफल भएको छ । बाँकेमा भने श्रावस्ती जिल्लासँग सीमा जोडिएको क्षेत्रमा मात्र सीमानाका बन्द गरिनेछ ।
भारतको श्रावस्ती जिल्लाले आयोजना गरेको बैठकमा बाँकेका प्रजिअ पोखरेल, दाङका प्रजिअ र श्रावस्ती जिल्लाका मजिस्ट्रेट कृतिका शर्मा, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।





