बाँकेका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

नेपालगञ्ज । बाँकेका २५ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नं-६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सब-डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । तर कति संख्यामा मरे भन्ने विषयमा विवरण संकलन भइरहेको उहाँको भनाइ छ ।

उहाँले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताउनुभयो । जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा ठूलो मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र संकटमा रहेको बताइएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं-२, ८, ५ र ६ का समुदायिक वन डुडुवा गाउँपालिका वडा नं-५ स्थित गोकुल साुमदायिक वन, वैजनाथ गाउँपालिका-२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो ।

जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो । गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा भएकाले डढेलो झन् फैलिएको बताइएको छ ।

वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताउनुभयो । डढेलो लागेको वनमा सात सय लिटर ट्यांकी भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै उहाँले अग्नि हेरालु आठ जना परिचालन भएको बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिनुभयो

संरक्षण अधिकृत शाहले डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै पहिले केही दिनअघि अहिले डढेलो कम हुँदै गएको बताउनुभयो । रासस

Previous articleबालबालिका सम्वन्धी ऐन कार्यान्वयन गर्न उच्च अदालतको परमादेश
Next articleनेपाल-भारतका जिल्ला प्रमुखबीच बैठक, सुरक्षा व्यवस्थापन मुख्य एजेन्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here