पिटरको बक पत्रमाथि विमर्श

नेपालगञ्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको पुस्तक बक पत्रमाथि नेपालगञ्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु श्रृंखलाको चौथो अंकमा पिटरको बक पत्रमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा साहित्यकार सनत रेग्मी, पत्रकार दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे र अध्यापक भागवत पौडेलले बक पत्रमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले पनि आफ्ना जिज्ञाशा लेखकसमक्ष राखे र लेखक पिटरले जवाफ दिनुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले पिटरको पुस्तकमाथि मिश्रित धारणा राखे । पौडेलले बक पत्रमा सबाल्टर्नहरुका कुराले प्राथमिकता पाएको र जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएकोमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताउनुभयो ।

उहाँले बक पत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको पनि बताउनुभयो । पत्रकार गैरेले पिटरले बक पत्र भनेपनि उहाँले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेको टिप्पणी गर्नुभयो । उहाँले पिटरले कतिपय कुरा पुस्तकमा लेख्न नसकेको उल्लेख गर्दै त्यसो हुनुको कारण माग गर्नुभयो ।

साहित्यकार रेग्मीले बक पत्रमा पिटरले धेरै विषय छोएको तर ती विषयका सबै आयामहरु उल्लेख नगरेको बताउनुभयो । उहाँले बक पत्रमा निराशा हाबी भएको पनि बताउनुभयो । यद्धपि पिटरले माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले पिटरको राजनीतिक जीवनमा आएका उतारचढाव र उहाँको अहिलेको राजनीतिक एवं वैचारिक अडानका विषयमा जिज्ञाशा राखेका थिए । टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकका जस्ताको तस्तै उतार्न कठिन हुने बताउनुभयो ।

यद्धपि आफूले आफ्नो जीवन दर्शनलाई र मुक्तिको सपना देखेर जीवनको बाजी राखि होमिएको आन्दोलन तुहिएकोप्रति घृणा अभिव्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्छ । नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ ।

उहाँले आफू अहिलेपनि माओवादी रहेको दाबी गर्दै भन्नुभयो, पहिले म पार्टीमा थिएँ । अहिले सकडमा छु । म सडकको माओवादी हुँ । कार्यक्रममा बाँकेका राजनीतिक अगुवा, लेखक, अध्यापक, समाजसेवी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Previous articleशिक्षा समिति बाँकेले अझै पुर्णता पाएन
Next articleपार्टी विभाजन गैरजिम्मेवार कार्य हो : नरैनापुर अध्यक्ष शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here