
घोराही, दाङ । घोराही नगरपालिका वडा नं-१० मा बञ्चरो, कोदालो प्रहार गरी शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही-१० पहेलपारमा कोठा भाडा बस्दै आएको दुई जना महिलाको बञ्चरो, कोदालो प्रहार गरी हत्या भेटिएको हो ।
‘प्रहरीले हत्यामा संलग्न एक व्यक्ति नियन्त्रणमा लिएको समेत जनाएको छ । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या भएको हो । सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ । हत्या आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ ।
उनी पेसाले अटो चालक हुन् । दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।





