
नेपालगञ्ज । दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र पुजार सार्कीका अभिनेता पल शाहलाई नेपालगञ्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ । यहाँको हल सिने रोयलमा उहाँ आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए । जब शाहको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो ।
नेपालगञ्जको प्रचण्ड गर्मीकोसमेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए । आज शनिबार सिने रोयलमा रहेका आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका छन् । नायक शाहसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगञ्ज आउनुभएको छ ।
सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी देखिनुभयो । हाउसफुल दर्शकमाझ उभिनुभएका राउतले आफ्नो चलचित्रको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद दिनुभयो । दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको उहाँले बताउनुभयो ।
सिने रोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताउनुभयो । ‘देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ । अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ । बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,’ नायक शाहले भन्नुभयो ।
गत बुधवार आदर्शनगरस्थित सिने रोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताउनुभयो । दश महिनाअघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार पुजार सार्कीले प्राप्त गरेको छ वटा शोमा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड कायम भएको श्रेष्ठले बताउनुभयो ।
‘हिन्दी चलचित्र बढी हेरिने क्षेत्रमा खुलेको यो हलमा नेपाली चलचित्रको लागि यो भन्दा बढी खुसीको कुरा अरू के होला र ? पुजार सार्कीले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाली चलचित्रको विकासले हामी हल सञ्चालकलाई खुसी दिलाएको छ,’ श्रेष्ठले भन्नुभयो ।
अभिनेता शाह, निर्देशक राउतसहितको पुजार सार्की टिम आइतबार दाङको भि एफ एक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एस टिएस सिनेमा हलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।





