शनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुदैछ ।

कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

असारको १३ गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् । यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । दुइ साता अघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्ला स्तरीय (बि डिभिजन) नकआउट फुटबल प्रतियोगिता गरेको थियो ।

शनिबारबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । लिग कम नकआउटका आधारमा सेमिफाइनल हुँदै फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्ने छ ।

नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण कार्य चलिरहेकोले कोहलपुरमा प्रतियोगिता आयोजना गर्न परेको आयोजकले बताएको छ । सुरुआतमा नेपालगन्जमा आयोजना गर्ने तयारी भएपनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नु परेको अध्यक्ष शाहीले बताउनु भयो ।

शनिबार बेलुका कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष शाहीले बताउनु भयो ।

Previous article५० जना महिलालाई निःशुल्क फ्रिडम किट ब्याग
Next articleअनुसन्धानका लागि राखिएको विभिन्न परिमाणको लागूऔषध नष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here