
नेपालगञ्ज । वेस्र्टन रियल स्टेटका संचालकहरुले जग्गाको विषलाई लिएर चलन चल्तीको बाटो अबरोध गरेर दुःख दिएको आरोप स्थानीयहरुले लगाएका छन् । नेपालगञ्ज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडीको बाटो शनिबारदेखि अवरुद्ध छ । शर्माको घर जाने बाटो अवरुद्ध गरेर वेस्टर्न रियल स्टेट नेपालगञ्जका संचालकले बार्गेनिङ गरेका छन् ।
वेस्र्टन रियल स्टेटका अध्यक्ष कौशल नेपालले शनिबार बाटोलाई अवरुद्ध गर्दै तारबार लगाउनुभएको छ । जसका कारण आफुहरुलाई घर बाहिर निस्कन समेत अप्ठयारो परेको शर्मा बताउनुभयो । ‘सुरुआतमा वेस्र्टन रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडीसम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गाको किनबेच भएको छ ।, शर्माले भन्नुभयो, तर मेरो जमिन अगाडीबाट पनि बाटो दिनुपर्छ भन्दैं वेस्र्टन रियल स्टेटका संचालकहरुले मलाई दबाब दिइरहनु भएको छ । कहिले बाटो अगाडी खाल्डो खन्छन्, अहिले बाटो नै अवरुद्ध गरेर दुःख दिएका छन् ।’
शनिबारदेखि शर्माको परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी कौशल नेपालले तारबार लगाउनुभएको छ । प्लटिङ गर्ने क्रममा चलन चल्तीको लागि बाटो देखाएपनि रियल स्टेट धनीहरुले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगञ्ज उपमहानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनुपर्ने प्रावधान छ ।
प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुटयाएको जमिन भने रियल स्टेट संचालकहरुले आफनै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका छन् । त्यही शैली अपनाएका छन् वेस्टर्न रियल स्टेटका संचालकहरुले ।
चलन चल्तीको बाटो भएपनि बाटो अगाडी बढाउन शर्माले आफनो जमिन नदिएका कारण आफुले बाटो अवरुद्ध गरेको कौशल नेपालले बताउनुभयो । उहाँले भन्न्ुभयो, ‘उहाँले किनेको जग्गा मेरो होइन । पुर्व जग्गा धनी र उहाँहरुसँग मौखिक रुपमा बाटोको लागि जमिन छोड्ने सहमति भएको थियो । तर उहाँहरुले आफनो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनु भयो । बाटोका लागि जमिन दिन सहमति जनाउनु भएन । त्यसपछि मैले मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यो त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा तारबार गरे ।’
कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै नेपालले आफुहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउनु भयो । कारकाँदो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेस्टर्न रियल स्टेटले संचालक समितिका सदस्यहरुको नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ ।
प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने नेपालले आफनो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको छ ।
यही विवादलाई समाधान गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकामा दुबै पक्षबिच छलफल पनि भएको थियो । सहमति भने हुन सकेको छैन् । सहमति नभएपछि गत शनिबार नेपालले बाटो नै अवरुद्ध गरेर शर्मा परिवारलाई समस्यामा पार्नुभएको छ ।






