
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा जानकीलाई आज आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले गाउँपालिका प्रमुख र स्वास्थ्य शाखाको युनिटले विकास निर्माण जस्तै दिनरात खटेर स्वास्थ्यमा समेत राम्रो काम गरेर प्रथम स्थान ल्याउन सफल भएको भन्दै बधाई दिउनुभयो ।
साथै जानकी गाउँपालिकाले स्वास्थ्यमा प्रथम स्थान ल्याएकोमा जिल्ला समन्वय समितिका तर्फबाट जानकीलाई ५० लाख रुपैँया दिने घोषणा गर्नुभयो । गाउँपालिका प्रमुख छब्बन खाँले स्वास्थ्यमा पालिकालाई पहिलो नम्बरमा ल्याउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आउने दिनमा गाउँसभाबाट स्वास्थ्य शाखा प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभयो ।
कार्यक्रममा जानकी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, स्वास्थ्य शाखा जानकीका प्रमुख दल बहादुर रानाले समेत आआफ्नो धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, जिल्ला समन्वय समितिका सदस्य जुल्फेकार अली मनिहार, समन्वय समितिका विकास अधिकारी, विक्रम पाण्डे, विश्व स्वास्थ्य संगठनका खोप अधिकृत सरला न्यौपाने, पालिकाका विभिन्न शाखाका प्रमुख, स्वास्थ्य शाखा जानकीका जनस्वास्थ्य निरीक्षक तमलाल वेलबासे, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा प्रशंसापत्र समेत वितरण गरिएको थियो ।





