
नेपालगञ्ज । भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नं-८ का २४ वर्षीय मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नं-१३ घर भई काठमाडौं महानगरपालिका वडा नं-२६ बस्ने ४३ वर्षीय सन्तोष परियार, सोही वडामा बस्ने तनहुँ भानु नगरपालिका वडा नं-७ घर भएका २५ वर्षीय अन्जिल गुरूङ पक्राउ परेका हुन ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सिनामंगलबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयको प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार प्रहरीले कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचना पाएको थियो ।
सोही सूचनाको आधारमा छानबिन गर्दा मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा ९ लाख ९९ हजार ३९६ रूपैयाँ बराबरको ६९.८९० ग्राम सुनको ब्रासलेट १ थान, ११.६५० बेरूवा औंठी भेटिएको हो ।
उनलाई पक्राउ गरेपछि सुन ओसारपसार कार्यमा संलग्न भएको परियार र अन्जिललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट पनि सुन बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई भन्सार ऐन २०६४ अन्तर्गत कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ । साभार सेतोपाटी





