
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेस गरेको भन्दैं गाउँसभामा उपस्थिती सदस्यहरुले बिरोध गरेका छन् ।
अध्यक्ष विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम छलफल नै नगरी गाउँसभामा पेस गरेको भन्दैं सदस्यहरु बिरोधमा उत्रिएका थिए । अध्यक्ष विकले वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई समेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्ययन गर्न नदिएर सोझै गाउँसभामा पेस गरेपछि विवाद सुरु भएको थियो ।
विहान ११ बजे सुरु हुने भनिएको अधिवेशन चार घण्टापछि सुरु भएको थियो । अधिवेशनमा अध्यक्षले नीति तथा कार्यक्रम पढिरहँदा गाउँपालिकाका कर्मचारीले केहि गाउँसभा सदस्य र पत्रकारहरुलाई समेत नीति तथा कार्यक्रमको प्रतिलिपि अध्ययनको लागि दिएका थिएनन् ।
पत्रकारहरुलाई नीति तथा कार्यक्रम किन नदिएको भन्ने प्रश्नमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले नेपालगञ्जमा फोटोकपी गर्न दिएको पसलले प्रिन्ट गर्न ढिलाई गरेका कारण थोरै कपी मात्र भएको बताउनुभएएको थियो ।
अध्यक्ष विकले आइतबार पढेर सुनाएको नीति तथा कार्यक्रम एक्कासी गाउँसभामा प्रस्तुत गरेको भन्दैं त्यसमा अध्ययनको लागि समय आवश्यक पर्ने भन्दैं गाउँसभा सदस्य देउमाया मगरले आपत्ति जनाउनुभइएको थियो ।
उहाँले आफनो भनाई राख्दैं कार्यक्रम स्थलबाट बाहिरिनुभएको थियो । गाउँसभामा खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रले पनि नीति कार्यक्रममा विगतको योजनालाई कपि पेस्ट गरेर ल्याएको भन्दैं आपत्ति जनाउनुभयो ।
वडा अध्यक्ष क्षेत्रीले अघिल्लो स्थानीय सरकारले सुरु गरेको विकास निर्माण कार्यहरु सम्पुर्ण अधुरो रहेको भन्दैं त्यसलाई पुरा गर्ने दायित्व अहिलेको सरकारको भएको भन्दै बिरोध जनाउनुभएको थियो । अध्यक्ष क्षेत्रीले पालिका अध्यक्षले आफु केन्द्रित योजना बनाएर नीतिगत भ्रष्टाचारलाई बढाइरहेको आरोप लगाउनुभयो ।
खजुरा गाउँपालिका वडा नम्बर ८ अध्यक्ष फिरोज खानले गाउँसभामा बोल्दैं अध्यक्ष विकले हरेक वर्ष अनुउत्पादक क्षेत्रमा राज्यको रकमलाई खर्च गरिरहेको आरोप लगाउनुभयो । १५औं अधिवेशनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका जनप्रतिनिधिहरुले बिरोध जनाउँदैं बाहिरिएका थिए ।
तर खजुरा गाउँपालिका अध्यक्ष विकले भने बहुमतको आधारमा नीति तथा कार्यक्रम पास भएको घोषणा गर्नुभएको थियो । खजुरा गाउँपालिका गाउँ सभामा ४४ जना सदस्य रहेका छन् । जसमा एकीकृत माओवादी निकट २१ जना, नेकपा एमालेको १४ र कांग्रेसका ९ जना सदस्य रहेका छन् ।
२३ जना सदस्यहरुले फरक मत राखेको अवस्थामा पनि गाउँपालिका अध्यक्ष बहुमतले पास गरेको भन्दैं नीति तथा कार्यक्रम पास भएको घोषणा गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले अध्यक्षले मनपरी ढंगले स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरेको कानुनलाई मिचेर काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज अध्यक्षले पेस गरेको नीति तथा कार्यक्रम पास भएको छैन । यसमा धेरै संशोधन गर्न आवश्यक छ । त्यसको लागि हामीले समय मागेको छौं । यदि नीति तथा कार्यक्रम शंसोधन भएन भने हामी कानुन अनुसार त्यो उपचार खोज्नेछौं ।’
उता खजुरा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर २ अध्यक्ष धनीराम ओलीले भने १५औं अधिवेशन तालिका अनुसार अगाडी बढने बताउनुभयो । खजुरा गाउँपालिका अध्यक्ष विकले आइतबार गाउँसभा सुरु हुन अघि मात्र कार्यपालिका बैठक राख्नुभएको थियो ।
कार्यपालिका बैठकमा समेत अधिकाश सदस्यहरुको सहभागिता थिएन । अध्यक्ष विकले कांग्रेस र एमाले निकट जनप्रतिनिधिलाई पेलेर लैजाने रणनिति लिएपछि गाउँसभामा विवाद सुरु भएको थियो ।





