
खजुरा । महिलाहरुलाई स्वरोजगार बनाउन बाँकेको खजुरामा एक महिने सिलाई कटाई तालिम प्रदान गरिएको छ । घरको कामकाजमा व्यस्त रहने महिलाहरुले केही भएपनि पनि आफै स्वरोजगार हुनसक्ने बनाउनका लागि महिलाहरुलाई एक महिने सिलाई कटाई तालिम प्रदान गरिएको हो ।
खजुरा गाउँपालिका वडा नं–७ को कार्यालयले हालसम्म पनि अवसरबाट बञ्चित महिलाहरुलाई अवसर दिन र घरमै बसेर अफ्नो तथा परिवारकै कपडा सिलाएर भएपनि स्वलम्बी बनाउन सो तालिम संचालन गरेको थियो ।
नेपालगञ्जस्थित सभ्य समाज नेपाल नेपालगञ्जको आयोजनामा संचालन भएको तालिमको एक समारोहकाबीच समापन गरिएको छ । समारोह कार्यक्रममा बोल्दै वडा अध्यक्ष राम गोपाल यादवले कामकाजी महिलाहरुलाई अवसर प्रदान गर्न र दुई चार पैसा कमाउन सक्ने बनाउनका लागि यो कार्यक्रम गरिएको बताउनुभयो ।
एक महिने तालिमले निश्चय पनि धेरै कुरा सिकाई नहुने भएपनि मिलेको अवसरबाट नै चाहने हो भने धेरै अगाडी बढ्न पनि सकिने वडाअध्यक्ष यादवको भनाई छ । ‘यो तालिम पश्चात आफुलाई सक्षम भएको सावित गर्ने महिलाहरुलाई लक्षित गरेर पुनः कार्यक्रम संचालन गरिनेछ,’ वडा अध्यक्ष यादवले भन्नुभयो, ‘यो तालिम आधारभूत भयो, अब एडवान्स संचालन गर्ने हो ।, त्यसकारण सबै जना सक्रिय भएर काम गर्न अनुरोध छ ।’
स्थानीय सृजनशील सहकारी संस्थाका अध्यक्ष छमाया गुरुङ्गले आफुहरुले बिगतमा धेरै जना महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरेको भन्दै कतिपय व्यवसायीक रुपमा अगाडी बढेको पाइएको बताउनुभयो । तालिम लिनका लागि विगतमा सहभागि हुने अवसर प्रदान गर्न अनुरोध गरेको एक किशोरीको बारेमा स्मरण गर्दै आज उसले गरेको मेहनतले आफुहरु खुशी भएको बताउनुभयो ।
उहाँले किशोरीको जस्तै मेहनत र लगनका साथ सिकेको सिप व्यवहारमा उर्तान सहभागि सबैलाई अनुरोध गर्नुभयो । सभ्य समाजका अध्यक्ष सूर्यलाल यादवले तालिमको समयावधी छोटो भएको भएपनि सिक्नुपर्ने धेरै कुराहरुले सिकारुको उत्प्रेरणमा भर पर्ने बताउनुभयो । उहाँले आफुले केही गर्नुछ भन्ने सोंच हुनेले थोरै सहयोगले पनि धेरै गर्न सक्ने देखेको समेत अध्यक्ष यादवको भनाई थियो ।
यस्तो तालिममा आफु पहिलो पटक सहभागि भएको भन्दै वडा कार्यालयलाई सहभागि दुर्गादेवी धोवी (पथिक) ले बताउनुभयो । यस्तै सहभागि तारादेवी खड्काले तालिमबाट धेरै सिकाई भएको भन्दै लामो समयको भए राम्रो हुने बताउनुभएको थियो ।
गत जेष्ठ महिनाबाट शुरु भएको सो तालिम असारको ९ गते सकिएको हो । तालिममा सिमान्तकृत समुदायको महिलाहरु, अवसरबाट बञ्चित महिलाहरुको सहभागिता रहेको थियो । तालिमसँगै सबै सहभागिलाई सिलाई मेसिनसहित आवश्यक सामाग्री समेत वितरण गरिएको छ । तालिमलाई स्थानीय सुनिता गुरुङ्गले सहजीकरण गर्नुभएको थियो ।





