नेपालगञ्ज । बाँके प्रहरीले सोमबार नेपालगञ्जको न्यूरोडमा रहेको एक घरमा छापा मारेको छ । प्रहरीले सोमबार दिउँसो सो घरमा छापा मारेर ठुलो मात्रामा लत्ता कपडा बरामद गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ न्यूरोड भानुभक्त चोकमा रहेको सोनी गुप्ताको घरमा प्रहरीले छापा मारेको हो । भन्सार छलेर ल्याएको लत्ता कपडा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार छापा मारेर ३४ लाख १९ हजार २ सय रुपैया बराबरको ४ हजार २७४ पिस कुर्ता शुरुवात र ४ लाख २० हजार रुपैया बराबरको ४८० पिस साडी बरामद गरिएको छ ।
अन्दाजी ३८ लाख ३९ हजार २ सय रुपैया बराबर रहेको सो लत्ता कपडाहरुलाई प्रहरीले आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।